पत्रकार यादवमाथि आक्रमण : बसको फोटो खिचेको भन्दै,
- २१ चैत्र २०८१,शुक्रबार Updated
- / 296 Read
काठमाडौँ चैत २२ । सिरहाका पत्रकार मुकेश यादवमाथि संघातिक हमला भएको छ । हिजो सिरहाको बरियारपटीमा एउटा समूहले पत्रकार यादवमाथि आक्रमण गरेको थियो । आक्रमणपछि उनी घाइते भएका छन् । उनको उपचार जनकपुरमा भइरहेको छ ।
जनकपुर टुडेमा कार्यरत पत्रकार यादवले बसको फोटो खिचेको आरोपमा कुटपिट गरिएको बताइएको छ । बस सञ्चालक प्रमेश्वर यादवले आफूमाथि कुटपिट गर्न लगाएको पत्रकार यादवले दाबी गरेका छन् ।
धरिलो हतियारले आक्रमण गरेकोले उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि सिरहा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर पठाइएको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र प्रेसमाथि बारम्बार भइरहेका आक्रमणहरू प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरेको छ ।
पत्रकार यादवले भने, ‘प्रमेश्वर यादवले ममाथि बसको फोटो खिचेको आरोप लगाएर मान्छे लगाएर कुटपिट गर्न लगाउनु भएको हो । जब कि उहाँको बसको मैले फोटो नै खिचेको छैन । बसको फोटो खिचेको हो भनि आशंका गर्दै मलाई फोन गर्दा मैले फोटो खिचिकै छैन भन्दा भन्दै उहाँले कुटपिट गर्न लगाउनु भएको हो ।’
महासंघ सिरहा शाखाका उपाध्यक्ष रोयन्टल मण्डलले भने, ‘सिरहा जिल्लामा पटक–पटक पत्रकारहरू धम्की, आक्रमण र दमनको सिकार बनिरहेका छन् । अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कारबाही नगरेसम्म यस्ता घटनाहरू पुनः दोहोरिन सक्छन् । सरकार, प्रशासन, र सरोकारवाला निकायहरू यस घटनालाई हलुका रूपमा लिनुहुन्न ।’
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR