मोज्तबा खामेनेई इरानको नयाँ सर्वोच्च नेता नियुक्त
- २५ फाल्गुन २०८२,सोमबार Updated
- / 70 Read
काठमाडौं । इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा सय्यद मोज्तबा खामेनेई नियुक्त भएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका दोस्रो छोरा मोज्तबा खामेनेईलाई इरानको तेस्रो सर्वोच्च नेताका रूपमा चयन गरिएको हो ।
सोमबार उनको नाम घोषणा भएपछि राजधानी तेहरानसहित देशका विभिन्न शहरमा नागरिक सडकमा उत्रिएर नयाँ नेतृत्वको स्वागत गर्दै उत्सव मनाएका छन् ।
इरानको विशेषज्ञहरूको सभा नामक निकायले संविधानको धारा १०८ अनुसार मोज्तबा खामेनेईलाई इस्लामिक गणतन्त्र इरानको सर्वोच्च नेतामा नियुक्त गरेको जनाएको छ ।
नयाँ सर्वोच्च नेता चयन भएपछि इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर र सशस्त्र बलको जनरल स्टाफले उनको नेतृत्वप्रति पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले देशलाई नयाँ नेतृत्वको पछाडि एकताबद्ध हुन आह्वान गरेका छन् । इरानी संसदका सभामुखले पनि उनको चयनलाई देशका लागि शान्तिदायक निर्णय भएको बताएका छन् ।
नयाँ सर्वोच्च नेता नियुक्त भएको केही समयपछि इरानले इजरायलतर्फ दुई चरणमा मिसाइल प्रहार गरेको जनाइएको छ । मिसाइलका टुक्रा मध्य इजरायलमा खस्दा कम्तीमा एक जना घाइते भएको बताइएको छ ।
पश्चिम एसियामा बढ्दो तनावका बीच यी घटनाक्रम भएका हुन् । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण गर्दा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित केही वरिष्ठ अधिकारी मारिएका थिए ।
त्यसपछि इरानले कडा प्रतिकार गर्दै विभिन्न अरब देशतर्फ ड्रोन र मिसाइल आक्रमण गरेको जनाइएको छ । युद्ध सुरु भएको नौ दिन पुग्दा मानवीय क्षति पनि बढ्दै गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म एक हजार तीन सयभन्दा बढी मानिसको ज्यान गएको छ भने करिब एक लाख मानिस विस्थापित भएका छन् ।
सुरक्षा संकटका कारण धेरै नागरिक घर छाडेर सुरक्षित स्थानतर्फ पलायन भइरहेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले प्रभावित क्षेत्रमा राहत र सहयोगको माग तीव्र रूपमा बढेको जनाएको छ । लगातार बढ्दो द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा र मानवीय संकट अझ गम्भीर बन्ने चिन्ता व्यक्त गरिएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR