मध्यपूर्वी तनाव बढे नेपाली अर्थतन्त्र र इन्धन आपूर्तिमा असर पर्नसक्ने चेतावनी
- २९ फाल्गुन २०८२,शुक्रबार Updated
- / 92 Read
काठमाडौं । मध्यपूर्वी क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नेपालमा रेमिट्यान्स, इन्धन आपूर्ति र रोजगारीमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै विज्ञहरूले सरकारलाई पूर्वतयारी गर्न आग्रह गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘पश्चिम एसियाको समस्या र नेपाली अर्थतन्त्रमा देखिने प्रभाव’ विषयक अन्तरक्रियामा सहभागी अर्थ तथा आप्रवासन क्षेत्रका जानकारहरूले यस्तो चेतावनी दिएका हुन्।
कार्यक्रममा वक्ताहरूले अमेरिका–इजरायल–इरानबीच बढ्दो तनावका कारण विश्वव्यापी ऊर्जा संकट गहिरिन सक्ने र त्यसबाट रेमिट्यान्समा निर्भर तथा आयातित इन्धनमा आश्रित नेपालजस्ता देशहरू बढी प्रभावित हुने बताएका छन्।
पूर्वकार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक डा. गुणाकर भट्टले पश्चिम एसियाको अवस्थाले नेपालमा ऊर्जा तथा खाद्य सुरक्षामा चुनौती थपिन सक्ने बताए। उनले पेट्रोलियम पदार्थसहित अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात राख्न र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए।
श्रम आप्रवासन विज्ञ रामेश्वर नेपालले मध्यपूर्वमा तनाव बढ्दै जाँदा नेपाली श्रमिकको रोजगारी, सुरक्षा र रेमिट्यान्समा असर पर्न सक्ने बताए। प्रभावित क्षेत्रमा रहेका श्रमिकलाई सरकारले स्पष्ट सुरक्षा रणनीति र आवश्यक परे उद्धार योजना तयार गर्नुपर्ने उनको भनाइ थियो।
हाल मध्यपूर्व र खाडी मुलुकहरूमा करिब २० लाख नेपाली श्रमिक कार्यरत छन् भने नेपालबाट दैनिक करिब १,५०० भन्दा बढी युवा रोजगारीका लागि त्यहाँ जाने गरेका छन्। द्वन्द्व बढ्दै गएमा रोजगारीको अवसर घट्न सक्ने र त्यसले नेपाली घरपरिवारको चुलोचौकोमा समेत प्रत्यक्ष असर पार्न सक्ने विज्ञहरूले बताएका छन्।
कार्यक्रममा सेजनका अध्यक्ष भागवत भट्टराईले मध्यपूर्वी घटनाक्रमले नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे सरकारलाई सचेत गराउन अन्तरक्रिया आयोजना गरिएको बताए।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR